नेपाल सरकार

परिचय
पृष्ठभूमि

नेपालमा गौगोटी रोगको नियन्त्रण कार्यको सिलसिलामा सर्व प्रथम झापामा पशु क्वारेन्टाइनको आगमन झण्डै चार दशक अघिबाट भएको पाइन्छ । यस स्थानमा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना हुनु अघि शनिश्चरे भन्ने ठाउंमा संचालन भएको अभिलेख भेटिन्छ । काकडभिट्टा र भारतको पश्चिम वंगालको पानी टंकी जोड्ने सडक मार्ग एवं मेची नदीमा पक्की पुल निर्माण भए पश्चात केही समय पछि यस स्थानबाट औपचारिक रुपबाट पशु क्वारेन्टाइन चेकपोष्टका कामहरु शुरु गरिएका हुन् । नेपालले विश्व व्यापार संगठन WTO र अन्तराष्ट्रिय पशु स्वास्थ्य संगठन OLE को सदस्यता प्राप्त गरे पश्चात राष्टिय पशु चिकित्सा सेवालाई अन्तराष्ट्रिय मापदण्ड अनुसार संचालन गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ र सो को नियमावली २०५६ कार्यान्वयनमा आइ सकेको छ । यसै क्रममा वि.सं.२०६१ सालमा पशु सेवा विभाग अन्तर्गतका संरचनाहरुमा परिमार्जन हुंदा पूर्ववत् रुपमा संचालित पशु क्वारेनटाइन चेकपोष्टहरुलाइ प्रभावकारी रुपबाट कार्यान्वयनमा ल्याउन एक केन्द्रिय पशु क्वारेन्टाइन कार्यालय र क्षेत्रीय स्तरमा ८ वटा पशु क्वारेन्टाइन कार्यालयहरु स्थापना हुने क्रममा यस कार्यालयको पनि स्थापना भएको हो ।



कार्यक्षेत्र

यस कार्यालयको कार्यक्षेत्र मेची अञ्चलका पाँचथर वाहेकका तिन जिल्ला पर्दछन् । उत्तरमा चीनका स्वशासित क्षेत्र तिव्वत, पूर्वमा भारतको पश्चिम वंगाल एवं सिक्किम तथा दक्षिणतर्फ भारतकै विहार प्रान्त रहेका छन् । छिमेकी मुलुकहरु भुटान र बंगलादेश पनि यस स्थानबाट खासै टाढाका दूरीमा रहेका छैनन् । यस कार्यालय अत्तर्गत झापाको काकडभिट्टा, भद्रपुर (अस्थाइ चेकपोष्ट), र गौरीगंज तथा इलामको पशुपतिनगरमा चेकपोष्टहरु स्थापना भएका छन् । भारत संगको सिधा सम्पर्क एवं बंगालादेशको समिपमा रहेको यस स्थानबाट पशुपंछी तथा पशुपंक्षी जन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरु आयत निर्यात हुने प्रशस्त संभावनाहरु रहेता पनि हालका दिनहरुमा क्वारेन्टाइन नाका भएर खाने माछा र सिद्रा माछा भुर्रा माछा मात्र आयात हुने गरेको पाइन्छ । खुला सिमानका कारण सिमावारी र पारी अवैध रुपबाट कुनै पनि समयमा प्रतिबन्धित वस्तुहरु ओसार पसार गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको हुंदा क्वारेन्टाइन कार्यान्वयन प्रकृयामा जटिलता महशुस गरीएको छ । यस कार्यक्षेत्र अन्तर्गतका प्रमुख नाकाहरुमा झापाका बाहुनडांगी, नक्कलबन्दा, काकडभिट्टा, सतीघट्टा, भद्रपुर, पृथ्वीनगर, पाटामारी, केचना, शरणामती, गौरीगंज तथा इलामको पशुपतिनगर, छिरुवा, छव्विसे, हिले, श्रीअन्तु, मानेभञ्ज्याङ्ग आदि नाकाहरु पर्दछन् ।